काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका ललित राजवंशीले ३ पवन सर्राफले २ विकेट लिए । श्रीलङ्कामा टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको थियो ।
नेपालका सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अरु ब्याटरको भूमिका सम्झनलायक रहेन । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।
यसबाहेक प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए । पाकिस्तानका शहनावाज दहानीले पाँच र मोहम्मद वासिमले चार विकेट लिए ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘बी’मा पाकिस्तान र भारतका ए टोली र यूएई रहेको छ। अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन्।