काठमाडौं । फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई एक हजार रुपैयाँ लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
फोहर बोकेका गाडीलाई १५ सय रुपैयाँसम्म लिने गाउँपालिकाको निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले हिजो यस्तो आदेश दिएको अदालतका प्रवक्ता विमल पौडेलले बताए ।
सङ्घले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ अस्ति रिट दर्ता गरेको थियो । तर, नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीय बासिन्दाले भने आफ्ना माग सम्बोधन नभएसम्म फोहर लैजान नदिने अडान राखेका छन् ।