जनक श्रेष्ठ
लमजुङ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६ सय ५३ जना लाभान्वित भएका छन् ।
नौथर सेरामा दोर्दी गाउँपालिका, नमूना सामुदायिक अस्पताल, लायन्स क्लव अफ लमजुङ बेसिशहर र बबिता क्लिप्स् इन्टरटेन्मेन्ट लमजुङको संयुक्त आयोजनामा आयोजित शिविरमा दोर्दी गाउँपालिकाका ६ सय ५३ जना संख्यामा लाभान्वित भएका हुन् ।
नमूना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठले ४०५ जना महिला र २४८ जना पुरुष लाभान्वित भएको बताए ।निःशुल्क शिविरमा सामान्य परीक्षण, दन्त सेवा, महिला रोग परीक्षण, छाला रोग, भिडियो एक्सरे, रगत परीक्षण, मनोविमर्श भएको थियो ।
प्रमुख श्रेष्ठले भन्नुभयो, शिविरमा २१५ जनाको भिडियो एक्सरे, १३८ जनाको सामान्य परीक्षण, ९५ जनाको रगत परीक्षण, ६५ जनाको महिला रोग परीक्षण, ५५ जनाको दन्त परीक्षण, ५५ जनाको छाला रोग परीक्षण, १५ जनाको दात उखालेको र १५ जनाको मनोविमर्श गराएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गरेकाहरुको पाठेघर, पेटसम्बन्धी, हाडजोर्नी, एलर्जी, छालारोग सम्बन्धि, डिप्रेशन समस्या बढी देखा परेको बताइएको छ ।
आयोजक सो अस्पतालका प्रमुख श्रेष्ठको नेतृत्वमा महिला रोग विषेशक्ष विजय शाह, शल्य चिकित्सक आशिष गिरीसहित १२ स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । पालिका तथा ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युवाराज अधिकारीले बताए ।
लुकेर रहेका तथा उपचारका लागि टाढा जानु पर्ने भएपनि पालिकामा संञ्चालन गरिएको शिविरले पालिकावासीलाई सहज भएको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिका नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेकाले नागरिकलाई स्वास्थ्य बनाई राख्न आवश्यक बजेट समेत छुट्याएका छौँ ।’
आगामी दिनमा समेत आवश्यक शिविर पालिकाभित्रै गर्दै नागरिकलाई सेवा दिने भएको छ । पालिकादेखि जिल्लाको सदरमुकाम बेसिशहर तथा जिल्ला बाहिर उपचार तथा जाँचको लागि जानुपर्ने नागरिकहरुले पालिकामै निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएपछि हर्षित भएका थिए ।