काठमाडौं । काठमाडौं सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ ।
काठमाडौं महानगरपालिका ३, रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा आइतबार अपराह्न साढे ४ बजे १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी खेल्न निस्केका थिए ।
मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापनको टोलीले खोजी गरिरहेको छ । सामाखुसीबाट बगेका बालक विभिन्न खोलामा पुगेको हुन सक्ने अनुमानसहित प्रहरीले विभिन्न युनिट परिचालन गरेको छ ।
विष्णुमती र बागमती नदीका विभिन्न स्थानमा खोजी भइरहेको प्रहरीले जनाएको छ । बागमतीको कालीमाटी, बल्खु हुँदै चोभारसम्मको क्षेत्रमा निगरानी भइरहेको प्रहरीको भनाइ छ ।