काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ।
पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका–४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुर बकैया गाउँपालिका–११ लामराङस्थित कान्ती लोकपथ तथा भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड, चितवन इच्छाकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिङ सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका–३ ड्याम साइड नजिकै सिद्धार्थ राजमार्ग अवरोध भएको छ।
यस्तै कैलाली गोदावरी नगरपालिका–४ बुढीतोलास्थित भीमदत्त राजमार्ग तथा चुरे गाउँपालिका–५ गोपालेस्थित भीमदत्त राजमार्ग, काभ्रे रोशी गाउँपालिका–९ नार्के लगायत बीपी राजमार्गको विभिन्न स्थान, सिन्धुली सुनकोशी गाउँपालिका–२ कमेरेफाटस्थित बीपी राजमार्ग र बागलुङ, बागलुङ नगरपालिका–१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा सडक अवरोध भएको छ।
पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।