काठमाडौं । रुकुम पश्चिम चौरजहारीबाट पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जिल्लाबाट पहिलो पटक लाइसेन्स जारी गरेको हो । सोमबार मोटरसाइकल र स्कुटर तथा मंगलबार गाडीको लाइसेन्स जारी भएको कार्यालयले जनाएको छ ।
सोमबार र मंगलबार वर्ग ‘ए’ मोटरसाइकल, वर्ग ‘के’ स्कुटर, वर्ग ‘बि’ कार जिप र भ्यानको लाइसेन्सको प्रयोगात्मक भएको कार्यालय प्रमुख आनन्द चपाईले बताए ।
मोटरसाइकल तर्फ पहिलो सेवाग्राहीका रुपमा चौरजहारी नगरपालिका १ का उत्तर आचार्यले ट्रायल पास गरी लाइसेन्स प्राप्त गरेको उनको भनाइ छ । त्यस्तै गाडीको लाइसेन्सका लागि मंगलबार ट्रायल भएको छ ।
अब नियमित रुपमा सवारी चालक अनुमति पत्र लाइसेन्स जारी हुने कार्यालय प्रमुख चपाईको भनाई छ । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।