काठमाडौं। लमजुङको दोर्दी गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनाले १० प्रतिशत पानी छोड्नुपर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजना र गाउँपालिकाका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्र सञ्चालित जलविद्युत आयोजनाले आइइ/इआइए रिपोर्ट अनुसार खेलामा १० प्रतिशत पानी अनिवार्य रुपमा छोड्नुपर्ने निर्णय गरेको छ। जैविक वातावरण सन्तुलनका लागि पालिकाभित्र संचालित जलविद्युत आयोजनाको क्षमताको आधारमा आर्थिक सहयोग गरी दोर्दी गाउँपालिकाको नेतृत्वमा वातावरण विज्ञसँग सहकार्य गरी दोर्दी खोला, छ्याङ्दी खोला र किसेदी खोलामा माछाको भुरा छोड्ने निर्णय गरिएको छ ।
यसैगरी जलविद्युत आयोजनाले सुरुमा गरेको प्रस्तावित लागत रकमको सामाजिक दायित्व खर्च रकम यकिन गर्नुपर्ने र हाल संचालन भए पछिको अन्तिम चरणको रकमको सामाजिक उत्तरदायित्व र स्वास्थ्य सम्बन्धी खर्च अर्को बैठकमा पेश गरी गाउँपालिकाद्वारा एकमुष्ट रकम जम्मा गरी योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छ बहादुर घले, सुपरदोर्दी जलविद्युत संचालक रामशरण अधिकारी, लिवर्टी जनसम्पर्क अधिकृत जिवन घिमिरे, दोर्दी जलविद्युत–१ संचालक संजिव कुमार शाह, प्रशासन शाखा हरि पन्थी, हिमालयन जलविद्युत प्रवन्धक धिराज सिग्देल, छ्याङ्दी जलविद्युत प्लान्ट ईन्चार्ज संजित पोखरेल, साइट इन्चार्ज सरद कुमार पौडेल लगायत दोर्दी गाउँपालिका कर्मचारीहरुको उपस्थिति थियो ।