काठमाडौं । लमजुङको क्व्होंलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण गरिएको छ । गाउँपालिकाको वडा नं. २ मालिङमा भवन निर्माण गरेर सोही भवनबाट बुधबारदेखि पालिकाको कामकाज शुरु गरिएको छ ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले तीनतले आरसिसी भवन निर्माणका लागि ०७७ असोज ३० गते सम्झौता गरी ०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले दुईपटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरिएको बताए ।
४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरेको हो ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोडभन्दा बढी खर्च गरेको छ । भवन २ रोपनी ४ आना २ पैसा जग्गामा रविना–अविशा–विकन जेभीले निर्माण गरेको हो ।
भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान गरेका थिए । भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री ब्याकअपसमेत राखेर काम थालिएको बताए ।
नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज भएको गुरुङले बताए ।