काठमाडौं । लमजुङको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा दुर्घटनाको चार घण्टासम्म पनि चालकको मोबाइलमा फोन गइरहेको पाइएको छ । शनिबार राति अन्दाजी १२ः३० बजे ङादीतर्फ जाँदै गरेको घ १ ख ३७२ नम्बरको बस मर्स्याङ्दी –७ बालुवा नजिकको पहिरोदेखि मर्स्याङ्दी नदीमा खसेको थियो । बस चालक चितवन घर भइ हाल मर्स्याङ्दी गापा–७ मा बस्ने अन्दाजी ४२ वर्षका खेम भुलेज भने सम्पर्क विहीन छन् ।
घटनाको अवलोकनपछि मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘सार्वजनिक बस भएको कारणले धेरै मानवीय क्षति भएको अनुमान हुनु र धेरैको चासो हुनु स्वभाविक हो । घटनास्थल नजिकको स्थानियहरुको भनाई अनुसार बसमा कोहि नभएको हुन सक्ने र बस चालक ङादि निवासी भएकोले गाडी मर्मत गरेर घर जाँदै गरेको हुन सक्ने अनुमान गरिएको छ । हाल सम्म चालक बेपत्ता छ । सम्भावित घटना घटेको समय भन्दा करिब ४ घन्टा पछाडी सम्म चालकको मोबाइलमा फोन गइरहेको थियो भन्ने समेत कुराहरुले चालकको अवस्था बारे समेत यकिन गर्न सकिएको छैन भने हालसम्म चालक बाहेक कुनै पनि ब्यक्ति उक्त बसमा सवार रहेको पुस्टि हुन सकेको छैन । घटनास्थलमा प्रहरीहरु पुगिसकेकोछ । बस सडकमा निकाल्ने तयारी हुँदैछ ।’