काठमाडौं । नेपाली महिला क्रिकेट टिमको विश्वकप पुग्ने धोको अधुरै भएको छ। आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल थाइल्यान्डसॅंग पराजित भएसँगै नेपालको पहिलो पटक विश्वकप खेल्ने धोको अधुरै भएको हो।
विश्वकप खेल्नु अघि नेपाल ग्लोबल छनोटको खेल खेल्नु पर्थ्यो। तर आजको हारसँगै नेपालको ग्लाेबल छनोट खेल्ने सपना पनि पूरा भएन।
आज बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो। पराजयसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन।
थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा ५९ रन बनाउँदै अलआउट भयो। नेपालका लागि कविता कुँवरले सर्वाधिक १७ रन बनाइन्।
त्यस्तै कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाइन्। यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुआत गरेको थियो। पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ।