काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ ।
दाङबाट बर्दियातर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो । अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन ।
बर्दियाको ठाकुरद्वारास्थित बेतनी सामुदायिक वनका उपभोक्ताहरूले रिजर्भ गरेको उक्त बस दाङको धारापानी र थारू संग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटना भएको हो।