काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आइतबारदेखि काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवा थालेको छ । यो सेवा विस्तारले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने कम्पनीको भनाइ छ ।
एयरलाइन्सले हरेक आइतबार यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एच ९- ७२२० जहाजमार्फत स्थानीय समय अनुसार बिहान ९ : १५ मा उडान प्रस्थान गरेको थियो भने छिन्ताओको जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ : २२ बजे अवतरण हुनेछ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।
पहिलो उडानमा कुल यात्रु संख्या एक सय रहेको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अध्यक्ष झोउ एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवले दुई देशबीच पर्यटन तथा व्यापारिक क्षेत्रमा सघाउ पुग्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने नेपालका लागि चिनियाा राजदूत चेङ सोङ लगायतको उपस्थिति थियो । हिमालय एअरलाइन्सस प्रवक्ता समेत रहेका विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटन क्षेत्रमा हिमालयले काठमाडौंबाट उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको बताए ।