काठमाडौं । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तान भारतसँग पराजय भएकाे छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ । वर्षाका कारण आइतबार रोकिएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए । भारतीय बलरहरू सामु पाकिस्तानी ब्याटर जम्न सकेनन् ।
पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन् ।
१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाउन पुग्यो । आइतबार वर्षाले खेल रोकिएपछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो ।
भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए ।
यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२२ रन बनाए ।
कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए । त्यस्तै केएल राहुलले १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १११ रन बनाए । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र शादाब खानले १/१ विकेट लिए । यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए ।