काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित एमाले पार्टी कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलीका लागि उनको शव त्रिवि शिक्षण अस्पतालबाट च्यासलस्थित एमाले पार्टी कार्यालय लगिएको हो ।
गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पताल लगिएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
विदेशमा रहेका नेम्वाङका छोराहरू स्वदेश फर्किएपछि उनको अन्त्येष्टि हुनेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले अध्यक्ष नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।