काठमाडौं । अब नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा अथवा नयाँ ढाँचामा प्रतिलिपि लिनुपरेमा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने भएको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि लिन सहज बनाउने व्यवस्था गरिएको हो।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ मा गरिएको प्रतिबद्धताअनुसार नागरिकताको प्रतिलिपि वितरणलाई सहज बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
काठमाडौं उपत्यकामा अन्य जिल्लाका नागरिकको चाप बढ्न सक्ने भएकाले गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा दिने व्यवस्था मिलाइएको छ।
व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिलाई सेवा दिनेछ। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताको प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको अभिलेखसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ।
तर, सम्बन्धित प्रणालीमा अभिलेख नभेटिएमा, नाम, थर, जन्ममिति वा अन्य विवरण साविकको नागरिकताभन्दा फरक पारेर प्रतिलिपि लिन खोजिएमा वा नागरिकता शंकास्पद देखिएमा भने नागरिकता जारी भएको पुरानै जिल्लामा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस व्यवस्थाले नागरिकताको प्रतिलिपि लिन आफ्नो स्थायी जिल्ला नै पुग्नुपर्ने बाध्यता कम हुने र सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

