नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएको छ। उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने सम्भावना छ। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातको प्रभावले सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि अनुरोध गरेको छ।
प्राधिकरणले धानबाली काट्ने र भित्र्याउनेलगायत कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न सुझाव दिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकलाई नजान र गइसकेका पर्यटकलाई जोखिम अवधिभर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
मौसम प्रतिकूलताका कारण जोखिम बढेमा आवश्यकताअनुसार सवारी आवागमन बन्द गर्न र त्यसबारे सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि सम्बन्धित निकायलाई भनिएको छ। साथै, संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पूर्वसूचना र चेतावनीका आधारमा विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अनुरोध गरिएको छ। प्राधिकरणले मौसम विभाग तथा अन्य आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान र चेतावनी पालना गर्न आग्रह गरेको छ।
यसैबीच, चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा उल्लेख्य वर्षा भई नदीको जलसतह बढ्न सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मौसमसम्बन्धी जानकारीका लागि ११५५ तथा विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

