रास्वपाले विज्ञप्ति जारी गर्दै पत्रकारलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने तथा खोजी गर्ने कार्यले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थामाथि प्रश्न उठाएको जनाएको छ।
लोकतन्त्रको प्राण र सौन्दर्य स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू भएको उल्लेख गर्दै रास्वपाले नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका महत्त्वपूर्ण रहेको बताएको छ। कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणअनुकूल हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ।
प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाको भनाइ छ। समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्म भएको उल्लेख गर्दै पार्टीले प्रकाशित समाचारप्रति विमति वा कानुनी प्रश्न भए स्थापित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायमार्फत निरूपण गर्नुपर्ने जनाएको छ।
सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्था क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको रास्वपाले जनाएको छ।
पार्टीले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका तथा खोजी भइरहेका पत्रकारका विषयमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ।
रास्वपाले कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता निरन्तरता दिन सञ्चारकर्मीलाई आह्वान गर्दै सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने जनाएको छ।

