प्रधानमन्त्री कार्यालयका तर्फबाट प्रेस सल्लाहकार दीपा दाहालले सार्वजनिक गरेको स्पष्टीकरणमा घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उल्लेख गरिएको छ।
दाहालले पत्रकार पक्राउको घटनाप्रति प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेकी छन्। घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको पनि उनले बताएकी छन्।
शुक्रबार नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै पक्राउ गरेको थियो। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि कार्यालयबाटै नियन्त्रणमा लिइएको थियो।
नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली उनको कार्यालय पुगेको थियो। त्यसैगरी, दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई उजुरी परेको भन्दै फोन गरिएको थियो भने नेपाल प्रेसका अध्यक्ष बिन्दुराज लम्साललाई समेत साइबर ब्युरोले कार्यालयमा उपस्थित हुन फोन गरेको थियो।
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति विभिन्न राजनीतिक दलका नेता, पत्रकार तथा नागरिक अगुवाले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेता नैनसिंह महरले पनि घटनाको विरोध गर्दै पक्राउ परेका पत्रकारलाई रिहा गर्न तथा सञ्चारगृहमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गरेका थिए।

