काठमाडौं । प्रेस काउन्सिल नेपालले पक्राउ गरिएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न सरकार तथा प्रहरी प्रशासनसँग माग गरेको छ।
काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको जनाएको छ।
लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको ठहर छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरीको छानबिन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै रहेको स्मरण गराइएको छ।
समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा प्रेस काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समस्या समाधान गर्न सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई काउन्सिलले आग्रह गरेको छ।
त्यस्तै, कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरिएको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।


