काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनका लागि सात सदस्यीय समिति गठन गरेको छ।
नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले समिति गठन गरिएको बोर्डले जनाएको छ।
बोर्डका कार्यवाहक कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिलगायत सदस्य रहेका छन्।
समितिलाई नेपालको धितोपत्र बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी विभिन्न वित्तीय उपकरणको कारोबार गर्न सक्ने बहुआयामिक बजारका रूपमा विकास गर्ने जिम्मेवारी दिइएको छ। यसका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको बोर्डले जनाएको छ।
समितिको कार्यक्षेत्रमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी), इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (इनभिट) तथा चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणको कारोबार सुरु गर्ने विषय समेटिएका छन्।
बोर्डले सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ मा समेत बजारको गहिराइ र विविधीकरणका लागि यी वित्तीय उपकरणको चरणबद्ध विकास गर्ने लक्ष्य राखिएको छ।
सोही लक्ष्यअनुसार समितिले वस्तु कारोबारमा आधारित वायदा सम्झौता तथा विदेशी मुद्रा कारोबारमा आधारित डेरिभेटिभजस्ता नयाँ उपकरणको सम्भाव्यता अध्ययन गर्नेछ। साथै, तिनको विकास तथा सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था र बजार संरचना तयार पार्ने प्रक्रिया अघि बढाउनेछ।
समितिको पहिलो बैठक शुक्रबार बसेको छ। बैठकले नयाँ वित्तीय उपकरणको अवधारणा, कानुनी तथा बजार संरचना र आवश्यक प्राविधिक तयारीसम्बन्धी काम अघि बढाएको बोर्डले जनाएको छ।

