काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुरोधमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ६३ वर्षीय पाण्डे मोबाइल फोन स्विच अफ गरी फरार रहेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रमा मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा मंगलबार राति करिब ८ बजे पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा अनुमति पत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको ‘स्मार्ट टेलिकम प्रालि’ को सम्पत्ति व्यवस्थापन प्रक्रियामा अनियमितता भएको आशंका गरिएको छ। सो कम्पनीको सम्पूर्ण सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने व्यवस्था भए पनि लोन रिकभरी कमिटी (LRC) का अध्यक्ष समेत रहेका पाण्डेले सरकारी अधिकार प्रभावित पार्ने उद्देश्यले लिलामी प्रक्रियामा बदनियतपूर्ण काम गरेको आरोप छ।
त्यसैगरी, बैंकले २०८२ असोज ३ गते निकालेको लिलामी सूचनामा करिब ४० करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको विषयमा पनि अनुसन्धान भइरहेको छ। उक्त सूचनामा लिलामी गरिने उपकरण जडान भएका घर–जग्गा धनीलाई बुझाउनुपर्ने घर बहाल तथा विद्युत् महसुल पनि बोलपत्रदाताले थप गरी बुझाउनुपर्ने सर्त राखिएको थियो।
सो रकम बैंकले संकलन गरे पनि सम्बन्धित घरधनीलाई नबुझाई आफैँसँग राखेर ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लागेको छ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


