काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीको तलब समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले आन्तरिक गृहकार्य तीव्र बनाएको स्रोतले जनाएको छ ।
पछिल्लो पटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ले १५ प्रतिशत तलब वृद्धि गरेका थिए । त्यसयता करिब ३ वर्षपछि पुनः तलब बढाउने तयारी गरिएको हो ।
बढ्दो महँगी, बजार मूल्यवृद्धि तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रति घट्दो आकर्षणका कारण तलब तथा सुविधा वृद्धि आवश्यक रहेको निष्कर्ष बजेट टिमले निकालेको बताइएको छ ।
अर्थ मन्त्रालयका अनुसार आधारभूत तलबमा निश्चित प्रतिशत वृद्धि गर्ने वा महँगी भत्ता बढाउने विकल्पमाथि छलफल भइरहेको छ ।
सरकारले आगामी बजेटमार्फत कर्मचारीको मनोबल उच्च बनाउने, सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने तथा अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य राखेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार महँगीदर उच्च रहेकाले जीवनयापन कठिन भएको भन्दै कर्मचारी संगठनहरूले १५ देखि २० प्रतिशतसम्म तलब वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् ।
सरकारले आगामी जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गर्दै तलब वृद्धिबारे औपचारिक घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

