काठमाडौं । भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बस्दै आएका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्यान्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
दूतावासले एक सूचना जारी गर्दै विभिन्न कारणले भिसा अवधि समाप्त भएपछि पनि कम्बोडियामै बसिरहेका ती नेपालीहरू सम्पर्कमा आए पनि स्वदेश फर्किन ढिलाइ गरिरहेको जनाएको छ।
यसअघि भिसा अवधि समाप्त भई अवैध रूपमा बस्दै आएका ६०२ जना नेपालीलाई कम्बोडिया सरकारसँगको समन्वयमा भिसा शुल्क तथा जरिवाना मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको दूतावासले स्पष्ट पारेको छ।
तर, ईमेल, फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपालीहरूले स्वदेश फर्किन चासो नदेखाएपछि अन्तिम सूचना जारी गरिएको हो।
दूतावासका अनुसार कम्बोडियाको नयाँ कानुनअनुसार तोकिएको समयभित्र नफर्कने विदेशी नागरिकमाथि अनुसन्धान गरी कसुरअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था छ।
दूतावासले सम्बन्धित सबै नेपालीलाई १२ जुन २०२६ भित्र कनेक्टिङ फ्लाइटमार्फत नेपाल फर्किन आग्रह गरेको छ। साथै, सम्बन्धित व्यक्तिका परिवार तथा आफन्तहरूलाई पनि आफ्ना प्रियजनलाई यथाशीघ्र स्वदेश फर्काउन सहयोग गर्न अनुरोध गरिएको छ।


