काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। माग पूरा नभए देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवासमेत प्रभावित हुने गरी आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ।
आकस्मिक कक्षमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उपचारमा संलग्न चिकित्सकमाथि हातपात तथा अस्पतालमा तोडफोड भएको थियो।
नेपाल चिकित्सक संघले उपचारकै क्रममा भएको मृत्युको वास्तविक कारण नबुझी चिकित्सकमाथि भएको आक्रमणलाई निन्दनीय भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घटनापछि उपचारमा संलग्न पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाउने निर्णय फिर्ता लिन र उनीहरूलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
नेपाल चिकित्सक संघको नारायणी शाखाले पनि डा. प्रमोद रामसहित अन्य चिकित्सकमाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कानुनअनुसार कारबाही नभए नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक सेवासमेत बहिष्कार गर्ने चेतावनी दिएको छ।
यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार रामको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा नारायणी अस्पतालका प्रतिनिधि, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष, मृतक पक्षका प्रतिनिधि तथा अस्पताल प्रशासनका प्रतिनिधि सदस्य रहेका छन्।
समितिले घटनाको यथार्थ विवरण संकलन गरी प्रतिवेदन पेश गर्नेछ। त्यसपछि थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

