काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कलाकारद्वयलाई कदरपत्र प्रदान गरेका हुन्।
महानिरीक्षक कार्कीले हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयलाई जनमानससम्म पुर्याउँदै मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन श्रेष्ठ र आचार्यले महत्वपूर्ण योगदान दिएको बताएका छन्।
श्रेष्ठ र आचार्य आगामी एक वर्षसम्म मानव बेचबिखनविरुद्धको राष्ट्रिय सचेतना अभियानमा ‘एन्टी ह्युमन ट्राफिकिङ अवारनेस’ राजदूतका रूपमा सहकार्य गर्ने भएका छन्। उनीहरूले आफ्नो कला, आवाज र लोकप्रियतामार्फत जनचेतना फैलाउनेछन्।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस २०२६ को अवसरमा ‘ट्रयाप्ड बिहाइन्ड द स्क्याम’ नारासहित नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई अब परम्परागत अपराधका रूपमा मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने बताएका छन्।
उनले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको र तस्करहरूले पीडितका कानुनी कागजात प्रयोग गरी अनलाइन ठगी तथा साइबर स्क्यामजस्ता अपराधमा संलग्न गराउने प्रवृत्ति चुनौतीका रूपमा देखिएको बताएका छन्।
यस्ता चुनौती नियन्त्रण गर्न नेपाल प्रहरीले सूचना संकलन प्रणाली विस्तार, सीमा क्षेत्रमा निगरानी वृद्धि, जोखिममा रहेका यात्रुको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सल्टेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थामाथि कारबाहीलाई प्राथमिकतामा राखेर काम गरिरहेको महानिरीक्षक कार्कीले बताएका छन्।

