काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सञ्चय नगर्न आग्रह गरेको छ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास आपूर्तिलाई लिएर उपभोक्तामा देखिएको चिन्ताबारे बजारको वास्तविक अवस्था स्पष्ट पारेको हो।
संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट भइरहेको एलपी ग्यासको आयात हाल करिब १५ प्रतिशतले वृद्धि भएको छ। आयात सहज रूपमा भइरहेकाले ग्यास उद्योगहरूले सिलिन्डर रिफिलिङ गरी नियमित रूपमा बजारमा पठाइरहेको संघले जनाएको छ।
संघका अनुसार ग्यास सकिने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरी जगेडा राख्ने र होल्ड गर्ने प्रवृत्तिका कारण केही स्थानमा कृत्रिम अभाव देखिएको हो। यसले वास्तविक रूपमा ग्यास आवश्यक परेका उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्ने अवस्था सिर्जना भएको संघको भनाइ छ।
उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरी आवश्यकताअनुसार मात्र प्रयोग गरेमा हाल देखिएको समस्या तत्काल समाधान हुने संघले जनाएको छ। आगामी दिनमा समेत आपूर्ति नियमित र सहज रहने भएकाले ग्यास अभाव हुने अवस्था नरहेको संघले स्पष्ट पारेको छ।
संघले ग्यास बिक्रेताहरूलाई पनि घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न आग्रह गरेको छ। आफ्ना सदस्य उद्योग तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ।
संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगरी धैर्य र संयम अपनाउन आग्रह गरेको छ।

