काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको अवस्थामा असोज ९ गतेदेखि ११ गतेसम्म मेघगर्जनसहित चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेकाले गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमसम्बन्धी विशेष बुलेटिन, विशेष बाढी पूर्वानुमान बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उच्च सतर्कताका लागि एड्भाइजरी जारी भइसकेकाले सम्बन्धित निकायबाट जारी सूचना तथा पूर्वसावधानीका उपाय अनिवार्य रूपमा पालना गर्न मन्त्रालयले अनुरोध गरेको हो।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा बिहीबार जारी सूचनामा सम्भावित जोखिमपूर्ण क्षेत्र, समुदाय तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै पूर्वसूचना र पूर्वसतर्कताको जानकारी गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
मन्त्रालयले विपद्को जोखिम विश्लेषण गरेर मात्रै सवारीसाधन सञ्चालन गर्न तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सम्भावित विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ।
त्यस्तै, हिमाली क्षेत्रमा भारी हिमपात तथा मौसम प्रतिकूल हुन सक्ने भएकाले पदयात्रा तथा हिमालयात्रामा नजान मन्त्रालयले अनुरोध गरेको छ। उच्च हिमाली भू–भागमा रहेका पर्यटक तथा पदयात्रीलाई समेत तत्काल सुरक्षित स्थानमा फर्कन आग्रह गरिएको छ।
पहिरो तथा सडक अवरुद्ध हुने सम्भावनालाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडकको अवस्था, आन्तरिक उडान तथा यातायात सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न मन्त्रालयले भनेको छ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्वतयारीसहित सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ। आवश्यक परेमा स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी सहयोग लिनसमेत मन्त्रालयले आग्रह गरेको छ।

