काठमाडौं । लमजुङको घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप’ फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेसीशहरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसवर्ष ६ दिनसम्म फुटवल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगितामा आमन्त्रण स्वीकारेर आउने खेलाडी टीमलाई खाना र बासको व्यवस्थापन आयोजकले गर्ने भएको छ । यसवर्ष कूल १२ टिमको सहभागिता रहने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर गुरुङले बताए ।
यसपर्ष पहिलो पुरस्कार नगद ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल रहेको छ । दोस्रो पुरस्कार नगद ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ । यतिका ठूलो राशीको पुरस्कार राखेर समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा आयोजना गरिने फुवटल प्रतियोगिता नेपालमै सम्भवतः पहिलो रहेको आयोजकले दावी गरेको छ ।
यस प्रतियोगिता ग्रामीण स्तरमा खेलाउने लमजुङको हालसम्मकै सवैभन्दा ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता समेत रहेको घलेले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३१ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मेला आयोजक समितिका संयोजक गंगाबहादुर घलेले बताए ।
यसवर्ष घरेलु ४ टिम र मोफसलका चर्चित जिल्ला बाहिरका ८ वटा टीम प्रतियोगितामा सहभागी हुनेछन् । घरेलु टीममा लालीगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लव बेंसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेसिशहर युथ सोसाइटी शेरा बेंसीशहर रहेका छन् । जिल्ला बाहिरका भुइँखेल फुटवल क्लव काठमाडौं, अभिशेष चर्च रजहर नवलपुर, सूर्यतारा क्लव पोखरा, नेपाल युनाइटेड तनहुँ, पिप्ले युवा क्लव हेटौँडा मकवानपुर, रड्स रामपुर चितवन, देवदह नगरपालिका रुपन्देही र भरतपुर फुटवल क्लव चितवन रहेका छन् ।
विगत धेरै वर्षदेखि घलेगाउँको स्वर्गभूमी रंगशालामा बैशाख १ गते फुटवल खेल्ने मेला लाग्दै आइरहेको र फुवटल मेला वैशाख बजारको उपनामले पनि चिरपरिचित रहेको छ । विगत धेरै वर्ष पर्यटन व्यवस्थापन समितिकै आयोजनामा जिल्लाव्यापी र राष्ट्रव्यापी खुल्ला फुटवल प्रतियोगिताको आयोजना हुदै आइरहेकोमा पछिल्लो वर्षहरुमा प्रतियोगिता आयोजनामा देखिएको केही समस्यका कारण छुट्न गएको थियो ।
त्यसपछि साविक उत्तरकन्या गाविस हाल क्व्होलासोथार गाउँपालिका वडा नं. ३, उत्तरकन्यामा गठित उत्तरकन्या युनाइटेड युथ क्लवको आयोजनामा २०७३ सालदेखि स्मार्ट भिलेज गोल्डकपको रुपमा सञ्चालन गरिएको थियो । खेलकुदका माध्ययमबाट घलेगाउँको पर्यटन प्रवद्र्धनलाई थप उचाईमा पु¥याउन आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्ने योजना अनुरुप गत वर्षदेखि स्मार्ट भिलेज आमान्त्रित गोल्डकपको रुपमा अगाडि बढाइएको आयोजकले जनाएको छ ।
ग्रामीण पर्यटनका माध्ययमबाट पर्यटन प्रवद्र्धन गरी गाउँलेको आर्थिक अवस्था मजबुत बनाउन घलेगाउँबासीले २०५७ बैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’को आयोजना गरी घरबास (होमस्टे) सुरु गरेका थिए । होमस्टे सञ्चालनपछि प्रत्येक वर्ष बैशाख २३, २४ र २५ गते घलेगाउँ महोत्सवको आयोजना गर्दै आएकोमा २०७७ मा घोषित महोत्सव स्थानीयले मनाउन पाएनन् ।
महोत्सवलाई थाँती राखेर खेल पर्यटनको विकासबाट गाउँमा पर्यटन प्रवद्र्धन गर्न स्थानीयले बैशाख १ गतेबाट आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिता थालेका हुन् । घलेगाउँका वासिन्दाले खेलकुद प्रतियोगिता महोत्सवको अर्को रुप भएको भन्दै सहभागिताको लागि सवैमा अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण पर्यटनको राजधानी घलेगाउँको थप प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको खेलकुद प्रतियोगिताले घलेगाउँर्ला थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।