काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै तेस्रो जीत निकालेको हो । यसअघि सुदूरपश्चिमले काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई हराएको थियो ।
लुम्बिनी लायन्सले भने निरन्तर तेस्रो हार बेहोरेको छ ।सुदूरपश्चिमले दिएको १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो । लुम्बिनीका लागि विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए । सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे ।
दिनेश अधिकारीले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पहिलो दुवै खेलमा खराब बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा लुम्बिनीले यस खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि सेफले सर्वाधिक ९० रन जोडे । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । रेमन सिमोण्डको बलमा सेफ उमुक्त चन्दबाट समातिए । सेफ आउट भए लगत्त क्रिजमा आएका आरिफ शेख अर्को बलमा नै आउट भए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । ब्रेन्डन मक्मेलनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । उनी विवेक यादवको बलमा साद विन जाफरको बलमा क्याच आउट भए ।
विनोद भन्डारीले १३ बलमा १७ रन जोड्दै लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा क्याच आउट भए । भन्डारी ठूलो सट खेल्ने प्रयासमा बाउन्ड्रि नजिक सन्दीप जोराबाट समातिए । लुम्बिनीका लागि रेमन सिमोण्डले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवको नाममा समान १ विकेट रह्यो ।
लगातार तेस्रो हार बेहारेको लुम्बिनी लगातार तीन हार सहित अंकबिहिन रहेको छ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो ।
सुदूरपश्चिम भने लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्दै छन् ।