काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा करिव ७ सय जना लाभान्वित भएका छन् ।
दोर्दी गाउँपालिका र एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारको संयुक्त आयोजनमा फलेनी माध्यामिक विद्यालय दोर्दी ८ बन्सारमा सञ्चालित शिविरमा ६ सय ९२ जना नागरिकले सेवा लिएका हुन् ।
शिविरमा ५ सय ३२ जना महिला र १ सय ६६ जना पूरषले सेवा लिएका हुन् । एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारका प्रमुख हेमन्त श्रेष्ठका अनुसार शिविरमा १ सय ५२ जनाले ल्याव सेवा, ४५ जनाले फिजियोथेरापी सेवा, ९० जनाले डेण्टल सेवा, ७५ जनाले महिला स्वास्थ्य सम्वन्धि सेवा, १ सय ७६ जनाले सामान्य परिक्षण सेवा र १ सय ५६ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।
दुर दाजमा रहेका नागरिकलाई गाउँघरमै सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्थानिय सिद्धार्थ मिलन आमा समुह, हिले बजार युवा क्लवको सहकार्य र टिम माया स्टिर नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।
उक्त शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दोर्दी गाउँपलिका अध्यक्ष युवराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिकाले स्वास्थ्य सम्बन्धी गतिविधि सञ्चालन गरिरहेको बताए ।