काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले भने, ‘काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्ने माग जायज हो, तर पूर्ण रूपमा सरकारबाट अलग भएर बस्ने कुरा सम्भव छैन।’ उनले सञ्चार क्षेत्रले सरकारसँग कहीँ न कहीँ जोडिनै पर्ने अवस्था रहने स्पष्ट पारे।
उनका अनुसार, सरकारको हस्तक्षेप कम गर्ने उद्देश्यले स्वतन्त्र संयन्त्रको विकास गरिँदैछ। सञ्चार क्षेत्रलाई मर्यादित र अनुशासित बनाउने उद्देश्यले मिडिया काउन्सिलको गठनको तयारी भइरहेको उनको भनाइ थियो।
सामाजिक सञ्जालमार्फत बढ्दो साइबर अपराधप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री गुरुङले ‘जेठ मसान्तसम्म साइबर ब्युरोमा १९,७३० उजुरी दर्ता भएका छन्’ भने।
उनका अनुसार, तीमध्ये ५० प्रतिशतभन्दा बढी उजुरी बैंकिङ ठगीसँग सम्बन्धित छन्। यसै कारण, सामाजिक सञ्जालसँग सम्बन्धित अर्को छुट्टै विधेयक संसद्मा दर्ता गरिएको उनले जानकारी दिए।
राष्ट्रियसभाबाट पारित भइसकेको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ। अब समितिले सोमबार र मंगलबार संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरूसँग छलफल गर्ने तयारी गरेको छ।
समितिको छलफलपछि विधेयकमा आवश्यक संशोधन गर्दै अघि बढाइने जनाइएको छ।