लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा कुलो भत्किएर धन्सार पुरिँदा बाबुछोरीको मृत्यु भएको छ।
चितिखोलाबाट भाटबेंसीका लागि ल्याइएको कुलो मंगलबार बिहान करिब २:३५ बजे भत्किँदा स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पुरिएको हो।
घटनामा धन्सारमा अस्थायी रूपमा बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ नायुका ५९ वर्षीय टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विक गम्भीर घाइते भएका थिए। उद्धारपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ५:५५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
घटनामा टिकबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया विक र अर्की छोरी १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अस्मिताको अवस्था सामान्य रहेको छ भने सुकमायाको अवस्था मध्यम छ। दुवैको पोखरामा उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ सदस्यीय टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। प्रारम्भिक उपचारपछि उनीहरूलाई चिसंकू स्वास्थ्य चौकी हुँदै पोखरा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विक परिवार गत मंसिरदेखि सुवेदीको धन्सारमा बस्दै आएको थियो। उनीहरू घरधनीको काम गर्ने, अधियाँमा खेती गर्ने तथा ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय भोर्लेटारबाट करिब १० किलोमिटर पश्चिम रहेको घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ।

