काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयले राहदानी सेवामा थप सुधार गर्दै अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी वितरणको पछिल्लो अवस्था र सेवा सुधारका प्रयासबारे जानकारी दिएका हुन्।
उनका अनुसार २०८३ असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित बनेको छ। हालसम्म नयाँ प्रणालीमार्फत ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ।
हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३९ नेपाली नियोग (३१ नियमित र थप ८) बाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
प्रवक्ता क्षेत्रीले नयाँ प्रणाली लागू गर्ने क्रममा केही प्राविधिक समस्या देखिए पनि प्राविधिक टोलीले ती समस्या समाधान गर्ने काम गरिरहेको जानकारी दिए। साथै, छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा छिटो पुर्याउन हुलाक विभागसँग कार्यसम्झौता गरिएको पनि उनले बताए।
मन्त्रालयका अनुसार हाल स्थायी ठेगाना भएको जिल्ला वा काठमाडौंबाट मात्र राहदानी आवेदन दिन सकिने व्यवस्था रहेकोमा आगामी दिनमा देशको जुनसुकै जिल्लाबाट आवेदन दिन मिल्ने प्रणाली लागू भएपछि सेवाग्राहीलाई थप सहजता हुने अपेक्षा गरिएको छ।

