काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालसहित जलवायु परिवर्तनबाट प्रभावित देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस कदम चाल्न आह्वान गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालजस्ता देशमा जोखिम बढ्दै गएको बताएका हुन्। उनले हिमाली पर्यावरणको संवेदनशीलता र बढ्दो जलवायु जोखिमप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्नेमात्र नभई उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
उनले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको उल्लेख गर्दै साहस, धैर्य, संयम र दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताए।

