काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
यादवले बुधबार संघीय संसद्को उद्योग समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई कडाइ गर्नुपर्ने बताउँदै ‘पाता नफर्काएसम्म ग्यास सहज नहुने’ धारणा राखेकी थिइन्।
त्यसैगरी उनले नेपालमा सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संख्यामाथि प्रश्न उठाउँदै आवश्यक परे लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै भनाइ फिर्ता लिन माग गरेका थिए।
राजीनामा दिनुअघि मन्त्री यादवको अभिव्यक्तिलाई लिएर उद्योगी र सरकारबीच विवाद बढेको थियो। ग्यास उद्योगीहरूले मन्त्रीको अभिव्यक्ति अमर्यादित भएको भन्दै आपत्ति जनाएका थिए।

