काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये पहिचान खुलेका १०२ जनाको शव परिवारलाई बुझाइएको छ।
बाढीमा हराएका ठूलो संख्याका मानिसको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। प्राधिकरणको तथ्यांकअनुसार ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। तीमध्ये सबैभन्दा धेरै रसुवामा २ हजार ८६० जना छन्। नुवाकोटमा १ हजार ९८१ नेपाली र करिब ५८७ जना विदेशी पर्यटक बेपत्ता रहेको विवरणमा उल्लेख छ।
१३ हजारभन्दा बढीको उद्धार, हजारौँ घाइतेको उपचार
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्मा परेका १३ हजार ५८३ जनाको उद्धार गरिएको छ।
घाइतेमध्ये ६ हजार ८२७ जनाले उपचार पाएका छन्। उपचार तथा उद्धारमा सुरक्षा निकायसहित विभिन्न स्वास्थ्य संस्थाको टोली परिचालन गरिएको छ। नेपाली सेनाले ३ हजार ४०४ जना र सशस्त्र प्रहरी बलले ३ हजार ९६ जनाको उपचारमा सहयोग गरेका छन्। त्यस्तै, १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना गरी २१ हजार ४०२ सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन्।
विस्थापितको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा अहिले ३ हजार ५३३ जना रहेका छन्। नुवाकोटका केन्द्रमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना राखिएका छन्।
उद्धारका क्रममा हवाई साधनको समेत व्यापक प्रयोग गरिएको छ। नेपाली सेनाले १ हजार १५७ पटक हेलिकोप्टर उडान गरेको छ। काठमाडौंमा रहेका निजी हेलिकोप्टरबाट १२९ र सशस्त्र प्रहरीबाट २०३ उडान गरिएको प्राधिकरणले जनाएको छ।
स्थानीय तहमा राहतदेखि विद्युत् पुनःस्थापनासम्म
बाढी प्रभावित स्थानीय तहमा राहत रकमसमेत पठाइएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। त्यस्तै, प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन इन्धनको व्यवस्था गरिएको छ। हाल ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ। त्यस्तै, ४५७ वटा एलपी ग्यास सिलिन्डरमा अनुदानसमेत दिइएको छ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मतसँगै प्रभावित घरधुरीमा विद्युत् सेवा पनि क्रमशः पुनःस्थापित भइरहेको छ। रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको प्राधिकरणले जनाएको छ।
विपद्पछि प्रभावितमा परेको मानसिक असर कम गर्न स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ। उनीहरूले प्रभावित तथा विस्थापितलाई मनोसामाजिक परामर्श दिइरहेका छन्।
बाढीपछिको खोज तथा उद्धार जारी रहे पनि हजारौँ मानिस अझै सम्पर्कविहीन रहेकाले प्रभावित परिवारको प्रतीक्षा कायमै छ। फेला परेका शवको पहिचान गर्ने र बेपत्ताको खोजी गर्ने कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ।

