शर्मिला विश्वकर्मा
ललितपुर। बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको पाँचौँ अधिवेशन तथा नवौँ साधारण सभाले ज्योति केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
भदौ २१ गते ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति बोर्डिङ स्कुलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोहिणी ढुङ्गेल, सचिवमा सुन्केशरी माली र कोषाध्यक्षमा शान्ति मोक्तानलाई निर्वाचित गरेको छ। सदस्यमा अचला थापा, सरिता थुलुङ्ग, जया राजभण्डारी, शर्मिला लिम्बु र कल्पना महर्जन तथा युवा बीपीडब्लुबाट रेनु राई निर्वाचित भएका छन्।
कार्यक्रममा बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालकी अध्यक्ष मङ्गला कारञ्जितले महिलाले आफ्नो कमाइ आफ्नै विकासका लागि समेत लगानी गर्नुपर्ने बताइन्। संस्थाका सबै च्याप्टर एकजुट भएर उद्देश्य र इतिहासअनुसार अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्।
अध्यक्ष केसीले सुनाकोठी च्याप्टरले नेत्रहीन महिला संघ नेपालको छात्रावासमा रहेका दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका महिलाको शिक्षालाई निरन्तरता दिन छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइन्।
उनले भदौ १० गते रसुवामा आएको बाढीपहिरोबाट प्रभावित अपाङ्गता भएका बालबालिकाका लागि भइरहेको सहयोग संकलनमा संस्थाले समेत हातेमालो गर्ने बताइन्। यस वर्ष तिज मनाउन छुट्याइएको रकमसमेत बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने उनको भनाइ छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भूमिका लिम्बु सुब्बाले महिला हिंसा न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन्। कार्यक्रममा बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालकी निवर्तमान अध्यक्ष कमलेशलता राजभण्डारी र लिम्बु सुब्बालाई सम्मान गरिएको थियो। महिलाले उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो।

