काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका विभिन्न कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ २३ गते साँझ ७ बजेसम्म हवाई साधनमार्फत थप ८१ जनाको उद्धार गरिएको छ।
यससँगै हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ७९८ र विदेशी २८३ गरी ४ हजार ८१ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
टनेलमा खोज तथा उद्धार जारी
रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ। संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरी खोजतलास गर्दा एक शव फेला पारेको छ। थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
चिलिमे हाइड्रोमा विदेशीसमेत सहभागी संयुक्त टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ। स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म भारी उपकरण लैजान सडकमा रहेको ठूलो ढुङ्गा ब्लास्टिङ गरी हटाउने काम भएको छ। मेजर रकसम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको सेनाले जनाएको छ।
विन्च मेसिन र बकेटको प्रयोग गरी टनेलभित्रको भग्नावशेष हटाउने कार्य भइरहेको छ। संयुक्त टोली टनेलभित्र ११५ मिटरसम्म प्रवेश गरी खोजीमा जुटे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
माथिल्लो त्रिशूली–१ मा विदेशीसमेत सहभागी संयुक्त टोलीले मुख्य प्रवेश टनेलमा करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ। त्यहाँ पनि हालसम्म केही फेला परेको छैन।
त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३४, सशस्त्र प्रहरी बलका चार तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका १०१ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गरेको छ। आयोजनाको कार्यालय तथा आवासगृह क्षेत्रमा हालसम्म केही फेला नपरे पनि खोजी कार्य जारी रहेको छ।
पुल निर्माण तथा मर्मत तीव्र
बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माण तथा आवागमन सहज बनाउन पुल निर्माण र मर्मतको कामसमेत तीव्र पारिएको छ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्य तीव्र रूपमा अघि बढाइरहेको छ।
बाढीबाट क्षतिग्रस्तमध्ये मर्मत गर्न मिल्ने पाँचवटा झोलुङ्गे पुलको मर्मत भइरहेको छ भने थप १५ वटा झोलुङ्गे पुलको मर्मतका लागि तयारी भइरहेको छ। साथै, नेपाली सेनाका इन्जिनियरले ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि परामर्शसहित काम सुरु गरेका छन्।
जमिनबाट पनि खोज तथा उद्धार
प्रभावित क्षेत्रमा मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य भइरहेको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार ४८८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजारभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।

