काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका केही नेताले जेन्जी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै आन्दोलनको अपमान गरिरहेको आरोप लगाएका छन्।
मंगलबार आयोजित जेन्जी शहीद स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले जेन्जी आन्दोलन इतिहासमा स्थापित भइसकेको भन्दै त्यसलाई फेरबदल गर्ने प्रयास नगर्न आग्रह गरे।
उनले भने, ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ। उहाँहरू सबैलाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’
गुरुङले जेन्जी आन्दोलनको अपमान गर्नु देशका नागरिकको अपमान भएको बताए। उनले भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यसैले सुध्रिनुस्, अझै पनि समय छ। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन।’
‘भदौ २३ मा सत्ताको लोभमा आन्दोलन गरेका थिएनौँ’
गृहमन्त्री गुरुङले आफूहरू सत्ताको लोभमा जेन्जी आन्दोलनमा सहभागी नभएको दाबी गरे। उनले आन्दोलनको उद्देश्य सत्ता प्राप्ति नभएको स्पष्ट पारे।
‘भदौ २३ मा पनि हामी तपाईंको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन,’ उनले भने।
आफू मन्त्री बनेपछि जिम्मेवारीप्रति अझ बढी सचेत भएर काम गरिरहेको उनको भनाइ थियो। उनले सरकारका सबै मन्त्रीले आफ्नो क्षमताअनुसार काम गरिरहेको बताए।
‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिराख्नुभएको छ,’ उनले भने।
‘जेन्जीका माग सम्बोधन गर्छौँ’
गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनका क्रममा उठाइएका मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको बलिदानलाई सरकारले सम्मान गर्ने र आन्दोलनका मूल मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताए।

