शर्मिला विश्वकर्मा
काठमाडौं। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको १८औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। संघले भदौ २० गते आयोजना गरेको साधारणसभामा पारा खेलकुदको विकास, अपाङ्गता भएका खेलाडीको क्षमता अभिवृद्धि र उनीहरूका लागि अनुकूल वातावरण निर्माणमा जोड दिइएको छ।
साधारणसभामा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले संघले सञ्चालन गर्दै आएका कार्यक्रमको प्रशंसा गरिन्। नगरपालिका र संघको सहकार्यमा विगतमा ह्विलचियर बास्केटबल प्रतियोगितासहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको उनले बताइन्।
गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामाले अपाङ्गतालाई कमजोरीका रूपमा हेर्न नहुने बताए। अपाङ्गता अनुकूल वातावरण निर्माण गर्दै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
संघकी अध्यक्ष देवी आचार्यले स्थापनाकालदेखि नै ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिको खेलकुद विकासका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्नुका साथै सरोकारवाला निकायसँग वकालत तथा पैरवी गर्दै आएको बताइन्।
उनका अनुसार संघले सातै प्रदेशमा ह्विलचियर बास्केटबलका नयाँ खेलाडीको पहिचान तथा उत्पादनका लागि तालिमसमेत सञ्चालन गर्दै आएको छ। पारा खेलकुदलाई अगाडि बढाउन र खेलाडीको क्षमता विकास गर्न राज्यले थप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।
साधारणसभाकै अवसरमा संघ तथा ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूबाट संकलित १५ हजार रुपैयाँ रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रदान गरिएको छ। उक्त रकम संघकी अध्यक्ष आचार्यले गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विशेष विपत् राहत कोषमा जम्मा गर्ने गरी उपप्रमुख लामालाई हस्तान्तरण गरिन्।
त्यस्तै, मेरुदण्ड पक्षाघात भएका विरु मग्रातीको मिर्गौलामा समस्या देखिएपछि उपचार सहयोगका लागि संघले ५ हजार रुपैयाँ प्रदान गरेको जनाएको छ।

