काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा तत्काल १ अर्ब रुपैयाँ परिचालन गरिने भएको छ।
मंगलबार बसेको कोष सञ्चालन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा तत्कालीन पुनःस्थापनाका लागि १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टका अनुसार गृहसचिवको नेतृत्वमार्फत रकम परिचालन हुने गरी निकासा गरिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषको व्यवस्थापन गृहसचिवले गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकमा रहेको मौज्दातबाट १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको हो।
निकासा भएको रकम बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत, तत्कालीन पूर्वाधार सुधार र अस्थायी बासस्थान निर्माण लगायतका काममा खर्च गर्न सकिनेछ।
बाढी प्रभावित पालिका तथा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकता र मागका आधारमा रकम माग गर्न सक्नेछन्। प्राप्त माग तथा आवश्यकताका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्ने व्यवस्था गरिएको छ।
यससँगै बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत तथा पुनःस्थापनाका काम अघि बढाउन सरकारलाई थप स्रोत उपलब्ध हुने भएको छ।

