काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। सोमबार दिउँसो ५ बजे त्रिवि क्रिकेट मैदानमा एनपीएलको उद्घाटन कार्यक्रम हुँदैछ।
एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिएका छन्। उनले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र छोटो अवधिमै यसले भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन्।
प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई शुभकामना दिएका छन्।
उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ। यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना।’
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

