काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै सरकारले आर्थिक वर्ष २०८३/०८४ को पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागेको हो।
सरकारले नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउँदै आएको थियो। यस वर्ष दसैँ परेकाले कार्यक्रमको मिति सारिएको हो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
यस चरणमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ।
५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ। कार्यक्रममार्फत बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने सरकारको उद्देश्य छ।
सरकारले बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल तथा २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालेको हो।

