काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन जोडे। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै, आसिफ शेखले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए। निरोशन डिकवेला ७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल ५ र समिम हुसेन १ रनमा अविजित रहे। सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा २ चौका प्रहार गरे। ओपनर सेफ जेबले १४ बलमा २ चौकासहित १३ रन जोडे।
सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने शेर मल्लले ३ विकेट हात पारे। साड्ली भान साल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान १ विकेट लिए।

