काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता सुरु हुनुअघि आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानले तयारी ९५ प्रतिशतभन्दा बढी सम्पन्न भएको जानकारी दिएको हो ।
क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको बताउनुभयो । चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता निर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक मान्यता प्राप्त प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्याउने क्यानको अपेक्षा छ । एनपिएलको तेस्रो संस्करणबाट नेपाली क्रिकेटको आर्थिक आधारसमेत बलियो बन्ने क्यानले जनाएको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताबाट क्यानअन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकट बिक्रीलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा उक्त कारोबार हुने उहाँले बताउनुभयो ।
फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको छ । यसअनुसार एनपिएलको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको कोषाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
एनपिएलको तेस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
कोषाध्यक्ष खड्काका अनुसार एनपिएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको हो । पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको थियो ।
क्यानले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थालाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको जनाएको छ । पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा एनपिएलले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको क्यानको भनाइ छ ।
तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकास, लगानी विस्तार तथा समग्र आर्थिक गतिविधिमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

