- नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्रका ग्यास डिपो तथा विक्रेताबाट होटल, रेस्टुरेन्ट र उद्योगलाई व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ।
- व्यावसायिक उपभोक्ताले आवश्यक ग्यास हेटौँडा, चितवन, नवलपरासीलगायत उपत्यकाबाहिरका उद्योगबाट आफ्नै ढुवानी व्यवस्थामा सीधै ल्याउनुपर्ने भएको छ।
- निगमले उपत्यकामा उपलब्ध ग्यासलाई घरायसी उपभोक्ताको सहज आपूर्तिमा केन्द्रित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ।
काठमाडौं। नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्र होटल, रेस्टुरेन्ट, उद्योगलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ। उपत्यकामा उपलब्ध ग्यासको आपूर्तिमा घरायसी उपभोक्तालाई प्राथमिकता दिन निगमले यस्तो व्यवस्था गरेको हो।
निगमका अनुसार अब उपत्यकाका ग्यास डिपो तथा विक्रेताले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री गर्न पाउने छैनन्। ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले आफूलाई आवश्यक पर्ने ग्यास उपत्यकाबाहिर रहेका ग्यास उद्योगबाट सीधै खरिद गरी ल्याउनुपर्नेछ।
निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायले घरायसी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नयाँ व्यवस्था गरिएको बताएका छन्।
‘निगमले व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाबाट ग्यास बिक्री गर्न नदिने निर्णय गरेको छ,’ उपाध्यायले भने, ‘ठूला होटल र उद्योगले आफूलाई चाहिने ग्यास उपत्यकाबाहिरका ग्यास उद्योगमा पुगेर सीधै ल्याउन सक्नेछन्।’
यो व्यवस्था लागू भएपछि हेटौँडा, चितवन, नवलपरासीलगायत जिल्लाका उद्योगमा भरिएर काठमाडौं ल्याइएका ग्यास सिलिन्डरसमेत उपत्यकाभित्र व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैनन्। ती सिलिन्डरको बिक्री तथा वितरणमा घरायसी उपभोक्तालाई प्राथमिकता दिइनेछ।
व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने होटल, रेस्टुरेन्ट तथा उद्योगले भने आफ्नै सवारीसाधन तथा ढुवानीको व्यवस्था गरेर उपत्यकाबाहिरका उद्योगबाट ग्यास ल्याउनुपर्ने निगमले जनाएको छ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेपछि उपत्यकाको आपूर्ति व्यवस्थापनका लागि यसअघि नै बाहिरका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको थियो। नयाँ निर्णयले त्यस्तो ग्यासको वितरणमा घरायसी उपभोक्तालाई प्राथमिकता दिएको छ।

