-
नेपाली सेनाले सोमबार बिहान ११ बजेसम्म हवाईमार्फत थप २३ जनाको उद्धार गरेको छ भने बाढीपछिका दिनमा जलविद्युत् आयोजनाबाट मात्रै २७९ जनालाई जीवित उद्धार गरिएको छ।
-
चिलिमे, लाङटाङ खोला, अपर त्रिशूली–१, त्रिशूली–३ए र ३बी जलविद्युत् आयोजनाका सुरुङभित्र नेपाली तथा विदेशी प्राविधिकसहितका संयुक्त टोलीले खोज तथा उद्धार कार्य तीव्र बनाएका छन्।
-
रसुवादेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार २ सयभन्दा बढी नेपाली सेनाका जवान परिचालन गरी खोज, राहत, सडक खुलाउने र शव व्यवस्थापनको काम भइरहेको छ।
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई, जमिनी तथा जलविद्युत् आयोजनाका सुरुङभित्रको खोज तथा उद्धार कार्यलाई निरन्तर तीव्र बनाएको छ। सेनाका अनुसार भदौ १६ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ।
बाढीपछिको प्रारम्भिक उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनालाई जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवागढीबाट दुई, अपर त्रिशूली–१ बाट ३३, अपर त्रिशूली–३ए बाट २२१, अपर त्रिशूली–३बी बाट दुई, मैलुङ खोलाबाट नौ, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन र देवीघाट जलविद्युत् आयोजनाबाट पाँच जना रहेका छन्।
बाढीले प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा नेपाली सेना, विदेशी उद्धार टोली र प्राविधिक विज्ञको संयुक्त टोलीले खोजी जारी राखेको छ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र संयुक्त टोली करिब ५० मिटरभित्रसम्म प्रवेश गरी खोजी गरेको छ। लाङटाङ खोला जलविद्युत् आयोजनामा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ मा करिब २०० मिटरभित्रसम्म पुगेको सेनाले जनाएको छ।
अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा सुरुङको मुख फेला परेपछि कम्प्रेसरमार्फत हावा पठाउने, सुरुङभित्रको पानी निकाल्ने र ढुंगा तथा माटो हटाउने काम भइरहेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग पनि खोल्ने प्रयास भइरहेको छ।
त्यस्तै, अपर त्रिशूली–३बी आयोजनामा पनि विज्ञसहितको टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटरको सहयोगमा भित्र प्रवेश गर्ने मार्ग तयार पारिरहेको छ।
जलविद्युत् आयोजनाबाहेक प्रभावित बस्ती, जङ्गल, डाँडा र खोलानालामा समेत नेपाली सेनाले पैदल गस्ती गरी स्थानीय बासिन्दाको अवस्था बुझ्ने, उद्धारको आवश्यकता पहिचान गर्ने र सुरक्षा प्रत्याभूति दिने काम गरिरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २ सयभन्दा बढी नेपाली सेनाका जवान प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारमा अन्य सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छन्।
बाढीपछि स्वास्थ्य जोखिम बढ्न नदिन प्रभावित क्षेत्रको निसंक्रमण कार्य पनि सुरु गरिएको छ। धुन्चे बजार, श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवीघाट, पृथ्वीचन्द्र अस्पताल तथा शव सङ्कलन र व्यवस्थापन गरिएका विभिन्न स्थानमा निसंक्रमण गरिएको नेपाली सेनाले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी अन्य प्रभावित क्षेत्रमा समेत निसंक्रमण विस्तार गर्ने तयारी भइरहेको छ।

