काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन्। हिमालय क्षेत्रमा बढ्दो तापक्रम र हिउँ–चट्टानको हिमपहिरोका कारण यस प्रकारको ठूलो विपत्ति निम्तिएको उनको भनाइ छ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रको तापक्रम करिब १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको उल्लेख गर्दै जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम भएकाले यसको प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुनुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।’
प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्तिमध्ये एक रहेको विज्ञहरूसँगको छलफलबाट निष्कर्ष आएको बताएका छन्। यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै नेपालले भविष्यमा थप गम्भीर जोखिम सामना गर्नुपर्ने संकेत गरेको उनको भनाइ छ।
‘हामी सबैमाझ कसरी यो विपद् आइलाग्यो भन्ने जिज्ञासा उठेको छ,’ उनले भनेका छन्, ‘विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ, त्यसैले यस क्षेत्र अझ सचेत हुनैपर्छ ।’
प्रधानमन्त्री शाहका अनुसार हिमनदीको ठूलो भाग उच्च स्थानबाट खस्दा उत्पन्न भएको ऊर्जासँगै बरफ पग्लिन सुरु भएको र त्यसले ठूलो बाढीको रूप लिएको हुनसक्ने विज्ञहरूको अनुमान छ। हिमनदीभित्र पग्लिएको पानीका कारण बरफ र पानी मिसिएर बाढी थप शक्तिशाली बनेको हुनसक्ने पनि उनले उल्लेख गरेका छन्।
उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपत्तिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने समय आएको बताएका छन्।
खोज, उद्धारपछि पुनःस्थापनामा सरकार
प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणको चरण पार गर्दै पुनःस्थापनातर्फ अग्रसर भइरहेको बताएका छन्। प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
उनका अनुसार नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्। रसुवाका प्रभावितहरूलाई समेत नुवाकोटमा आश्रय तथा राहतको व्यवस्था गरिएको छ।
अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावितका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम जारी छ।
भारतले बाढी आएको दिनदेखि नै सहयोग सुरु गर्दै हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको ११ सदस्यीय टोली नेपाल आइसकेको छ भने २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ।
त्यसैगरी पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुने क्रममा रहेको छ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको छ। बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ। चीनबाट आएको उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ भने ५० टन राहत सामग्री पनि उपलब्ध गराइएको छ। नेपाल सरकारले प्रभावित क्षेत्रमा प्रयोगका लागि चीनसँग ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ।
अमेरिकाबाट पाँच लाख अमेरिकी डलर तथा अष्ट्रेलियाबाट १० लाख अमेरिकी डलर नगद सहयोगको प्रतिबद्धता आएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कतारले राहत सामग्री उपलब्ध गराएको छ भने स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको छ।
प्रधानमन्त्रीका अनुसार एसियाली विकास बैंकबाट बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान, प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर तथा विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता आएको छ।
यस्तै, बेलायत, जापानलगायत अन्य मित्रराष्ट्र तथा युरोपेली संघ र संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायबाट समेत सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले भोटेकोशीको विनाशकारी बाढीलाई केवल स्थानीय विपत्ति नभई जलवायु परिवर्तनले हिमालय क्षेत्रमा सिर्जना गरिरहेको बढ्दो संकटको गम्भीर संकेतका रूपमा बुझ्नुपर्ने बताएका छन्।

