काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले ब्याट–३६ परिवारले ३ लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग जुटाएको छ।
समूहले सञ्चालन गरेको सामूहिक राहत संकलन अभियानमार्फत सदस्यहरूबाट १ लाख ९१ हजार ३१३ रुपैयाँ संकलन भएको जनाएको छ। त्यस्तै, केही सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ४३ हजार ५०१ रुपैयाँ सिधै जम्मा गरेका छन्।
दुवै रकम जोड्दा ब्याट–३६ परिवारका तर्फबाट कुल ३ लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग भएको हो। समूहका अनुसार सदस्यहरूले यसअघि व्यक्तिगत रूपमा गरेको सहयोग भने उक्त रकममा समावेश गरिएको छैन।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको सहयोगका लागि राहत अभियान सञ्चालन गरिएको समूहले जनाएको छ।
बाढीले घर, सडक तथा पुललगायत पूर्वाधारमा क्षति पुर्याउनुका साथै ठूलो मानवीय क्षतिसमेत भएको भन्दै समूहले विपद्को पीडा आफूहरूले समेत नजिकबाट महसुस गरेको जनाएको छ। प्रशासन सेवासँग सम्बन्धित केही व्यक्तिको ज्यान गएको र समूहका केही सदस्यले आफ्ना आफन्त गुमाएको दुःखद अवस्था रहेको पनि जनाइएको छ।
देशका विभिन्न स्थानमा प्रशासनिक जिम्मेवारीमा रहेका सदस्यहरू घटनास्थलमा प्रत्यक्ष उपस्थित हुन नसके पनि आ–आफ्नो क्षमताअनुसार राहत तथा सहयोगमा जुटेको समूहले जनाएको छ।
ब्याट–३६ परिवारले सहयोगलाई प्रचारका रूपमा नभई विपद्को समयमा मानवीयता, सहानुभूति र सामाजिक जिम्मेवारीको अभिव्यक्तिका रूपमा लिएको स्पष्ट पारेको छ।
संकलित रकमबाट बाढीपीडितका तत्कालीन आवश्यकतामा सहयोग पुग्ने तथा घरबारविहीन बनेका परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

