रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्य सम्पन्न भएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली खोजीमा खटिएको थियो।
उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। टोलीले ड्रोनसमेत प्रयोग गरी विस्तृत खोजी गरे पनि सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेको जनाएको छ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ। खोजी अभियान सकिएसँगै नेपाली सेनाको उद्धार टोली रसुवाको धुन्चे फर्किएको छ।

